शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका खोरेतविरुद्ध पशुपालक किसानको घरघरमा पुग्ने भएकोे छ । पशुपन्छी तथा मत्स्य विकास शाखाको प्राविधिक टोली आइतबारदेखि खोरेतविरुद्ध खोप अभियान लिएर गोठ गोठमा पुग्ने भएको हो ।

 

अर्जुनधारा नगरपालिकाका पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख पदमलाल राईले अभियानलाई सफल पार्न सबै किसानलाई सहयोग गर्न आग्रह गरे । आइतबारदेखि एक महिना अभियान सञ्चालन गरिने उनको भनाइ छ ।

 

कोशी प्रदेश सरकारको सहयोगमा खोरेतविरुद्ध खोप अभियान सुरु गर्न लागिएको उनको भनाइ छ । अभियानका क्रममा २० हजार दूध दिने पशुमा खोप लगाइने उनले बताए । यो खोप विगत सात वर्षदेखि अर्जुनधारा नगरपालिकाले प्रत्येक वर्ष पशुमा लगाउँदै आएको छ ।

 

यस वर्षदेखि भने वर्षमा दुई पटक खोरेतविरुद्धको खोप अभियान सुरु गरिएको उनले बताए । विगत केही वर्षदेखि अर्जुनधारा नगरपालिकामा खोरेत नदेखिए पनि छिमेकी जिल्ला र स्थानीय तहमा खोरेत देखिएका कारण अर्जुनधारा पनि बफर जोनमा रहेको जानकारी दिए ।

 

‘केही वर्षदेखि हाम्रो पालिकामा खोरेत देखिएको छैन । तर, खुदुनाबारीको पूर्वकै ठूलो पशु बजार भएका कारण यहाँबाट खोरेतजस्तो सरुवा रोग पशुमा फैलन सक्ने भएकाले हामीले सचेतना अपनाएका हौँ,’ उनले भने, ‘खोरेतको खोप लगाएपछि दूधजन्य पदार्थ अन्तर्राष्ट्रिय बजारसम्म पुग्न सक्छ ।’ अर्जुनधारा नगरपालिकाबाट बर्सेनि १३ करोडभन्दा बढीको दूध विक्री हुने गरेको उनले बताए ।

 

पछिल्लो समय नेपालका विभिन्न क्षेत्रमा खोरेत रोगले पशुपालक किसान आक्रान्त छन् । खोरेतले पशुचौपायका मुख, खुरलगायत भागमा घाउ देखिने तथा पशुलाई उच्च ज्वरो आउने गर्दछ ।