झापा। प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित झापा अर्जुनधारा २ स्थित खुदुनाबारीका एक युवकलाई झापा प्रहरीले पक्राउ गरेको छ ।
भद्रपुरस्थित मेची पुलमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री अर्जुनधारा २ स्थित खुदुनाबारी बस्ने ३१ वर्षीय वीरबहादुर कुमाललाई लागूऔषधसहित पक्राउ गरेको हो ।
कुमाललाई शंका लागि चेकजाँच गर्दा निजले मलद्वारभित्र प्लाष्टिकको पोका पारी लुकाइछिपाई ल्याउदै गरेको ब्राउनसुगर प्लाष्टिकबाहेक ६ ग्राम ८३० मिलिग्राम फेला परेको थियो । पक्राउ परेका कुमाललाई वडा प्रहरी कार्यालय भद्रपुरमा अनुसन्धानका लागि राखिएको जनाइएको छ ।