झापा । जेनजी आन्दोलनका क्रममा काठमाण्डौको प्रहरी कार्यालयबाट लुटिएका दुईवटा हतियार र २० राउण्ड गोलीसहित कांग्रेस नेता विश्वदीप लिङ्देनका छोरासहित तीनजना पक्राउ परेका छन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट लुटिएको हतियार र गोलीसहित दमक ६, प्रशान्ती टोल निवासी कांग्रेस नेता विश्वदीप लिङ्देनका छोरा २९ वर्षीय विश्व लिङ्देन, दमक ९ बस्ने २६ वर्षीय सरोज पुरी र इलाम चुलाचुली ४ आइतबारे बस्ने ३० वर्षीय पवन हाङसुरुम्बा पक्राउ परेका हुन् ।
आइतबार राति ८ः३० बजे लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको टोलीले दमक ९ स्थायी ठेगाना भई दमक ८ मा डेरा बस्दै आएका सरोज पुरीलाई ठूलो चापे टाइप ५४ चाइनिज पेस्तोल थान १ र सोको गोली १५ राउण्डसहित फेला पारी थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय दमकमा बुझाएको थियो ।
पुरीलाई इप्रका दमकमा ल्याई सोधपुछ गर्दा उनले दमक ६ प्रशान्ती टोल बस्ने कांग्रेस नेता लिङ्देनका छोरा विश्व लिङ्देनलाई अर्को हतियार राख्न दिएको बयान दिएका थिए । त्यसको आधारमा लिङ्देनलाई उनको घरबाटै पक्राउ गरिएको थियो ।
लिङ्देनलाई थप सोधपुछ गर्दा उनले इलाम चुलाचुली ४ बस्ने पवन हाङसुङ्वालाई २० हजार रुपैयाँमा सो हतियार बेचेको बताएका थिए । त्यसपछि लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट र इप्रका दमकबाट खटिएको टोलीले अनुसन्धान सुरू गरेकाे थियाे ।
उक्त स्थानमा पुगेर हेर्दा हाङसुरुम्बाले आफ्नै बारीमा खाल्डो खनी रातो रंगको प्लाष्टिकको झोलामा लुकाइछिपाई राखेको अवस्थामा ठुलो चापे टाईप ५४ चाइनिज पेस्तोल थान १, सोको राउण्ड ५ पेस्तोलमा लोड गरिराखेको अवस्थामा फेला परेको थियो ।
उनलाई समेत पक्राउ गरी इप्रका दमक ल्याइएको थियो । बरामद हतियारसहित तीनै जनालाई आवश्यक कार्वाहीको लागि काठमाण्डौ पठाइएको प्रहरी स्रोतले जनाएको छ ।