ताप्लेजुङ । मेरिङदेन गाउँपालिका यहाँ जारी कन्चनजंघा सेसेलुङ महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मेरिङदेनको जितसँगै सेमी समिकरण पनि पूरा भएको छ ।
स्थानीय भानुजन माविको मैदानमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा सिदिङ्वा गाउँपालिकालाई २-१ गोलअन्तरले पराजित गर्दै मेरिङदेनले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
मेरिङदेनका लागि पहिलो हाफमा दुवै गोल सम्भव भएको हो भने सिदिङ्वाले दोस्रो हाफमा सान्त्वना गोल गरेको हो । मेरिङदेनकी कप्तान अनुष्का शेर्पाले पहिलो हाफको ७औँ र ३८औँ मिनेटमा गोल गरेकी हुन् ।
यस्तै, सिदिङ्वाका लागि एकमात्र गोल इमा राईले खेलको ७०औँ मिनेटमा गरेकी थिइन् । मेरिङदेनकी कप्तान अनुष्का शेर्पा प्लेयर अफ दी म्याच बन्दै नगद ५ हजार पाउन सफल भइन् ।
बुधबार मैवाखोला गाउँपालिका र फुङलिङ नगरपालिकाबीच पहिलो सेमिफाइनल खेल हुनेछ । चासोक तङनाम सञ्चालन समितिले आयोजना गरेको गोल्डकपमा जिल्लाका आठ वटा पालिकाको सहभागिता रहेको छ । मंसिर २० गते हुने फाइनल खेलको विजेताले नगद २ लाख २ हजार ८२ सहित आकर्षक ट्रफी पाउने छ ।
यसैगरी, गोल्डकपको उपविजेताले नगद १ लाख २ हजार ८२ मा चित्त बुझाउनु पर्नेछ । प्रत्येक खेलको प्लेयर अफ दी म्याचले नगद ५ हजार पाउँदा विधागत पुरस्कारतर्फ नगद ८ हजार प्रदान गरिने आयोजक समितिका अध्यक्ष चन्द्र थेवेले जानकारी दिएका छन् । सर्वोत्कृष्ट खेलाडीले नगद १० हजारसहित ट्रफी पाउने छ ।