झापा । गत फागनु ८ मा पाथीभरा मन्दिर दर्शनका लागि गएका झापाको कमल गाउँपालिका ५ का टंकबहादुर खड्का बेपत्ता भएका छन् ।

 

६५ वर्षीय खड्का पाथीभरा मन्दिर पुगेको तर त्यहाँबाट नफर्किएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको खोजी कार्य तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जटाशंकर यादवले जानकारी दिए ।

 

खड्काले दौरा, सुरुवाल र कोट लगाएका छन् । अन्दाजी ५ फिट उचाइका उनी गएको नौ दिनदेखि हराइरहेको यादवले जानकारी दिए । उनले कान भने कम सुन्ने गरेका छन् ।

 

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले दुई दिनसम्म खोजी गर्दा पनि नभेटिएको पाथीभराका कर्मचारी राजेन्द्र महतले जानकारी दिए । पाथीभरा क्षेत्रमा हिउँ भएकाले अहिले खोजी कार्यमा समस्या आएको छ ।