ताप्लेजुङ । यहाँ जारी कन्चनजंघा सेसेलुङ महिला गोल्डकपमा मेरिङदेन गाउँपालिकाले पाथीभरा याङवरक गाउँपालिकामाथि गोलवर्षा गर्दै फुङलिङ नगरपालिकासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ ।

 

स्थानीय भानुजन माविको खेलमैदानमा आज भएको अन्तिममा पाथीभरा याङवरक गाउँपालिकामाथि ५-० गोलको सानदार जित दर्ता गर्दै फुङलिङ नगरपालिकासँग फाइनल भेट पक्का गरेको हो ।

 

मेरिङदेनको जितका लागि कप्तान अनुष्का शेर्पाको व्यक्तिगत ४ गोलको योगदान रह्यो भने सुष्मा लिम्बूको नाममा एक गोल रह्यो । गोल्डकपको अनुष्काको ह्याट्रिक पहिलो हो ।

 

अनुष्काले खेलको २६औँ मिनेटमा पहिलो गोल गरेकी थिइन् भने सुष्मा लिम्बूले २७ मिनेटमै अग्रता दोब्बर बनाएकी हुन् । त्यसपछि अनुष्काले ३५औँ, ६५औँ र ८१औँ मिनेटमा गोल गरेर फराकिलो नतिजा निकालेकी हुन् ।

 

फाइनल खेल अघि नै अनुष्काले सर्वाधिक गोलकर्ताको सूचीमा आफूलाई समावेश गराएकी छिन् । उनी खेलको प्लेयर अफ दी म्याच बन्दै नगद ५ हजार पाउन सफल बनिन् ।

 

चासोक तङनाम सञ्चालन समितिले आयोजना गरेको गोल्डकपमा जिल्लाका आठ वटा पालिकाको सहभागिता रहेको थियो । मंसिर २० गते हुने फाइनल खेलको विजेताले नगद २ लाख २ हजार ८२ सहित आकर्षक ट्रफी पाउने छ ।

 

यसैगरी, गोल्डकपको उपविजेताले नगद १ लाख २ हजार ८२ मा चित्त बुझाउनु पर्नेछ । प्रत्येक खेलको प्लेयर अफ दी म्याचले नगद ५ हजार पाउँदा विधागत पुरस्कारतर्फ नगद ८ हजार प्रदान गरिने आयोजक समितिका अध्यक्ष चन्द्र थेवेले जानकारी दिएका छन् । सर्वोत्कृष्ट खेलाडीले नगद १० हजारसहित ट्रफी पाउने छ ।