बिर्तामोड । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ टिम र नेपाल पुलिस क्लबले दोस्रो जित निकालेका छन् ।

 

पहिलो खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको हो । एपिएफले ३-१ को सेटमा आर्मीलाई स्तब्ध बनाएको हो ।

 

एपिएफले १५-२५, १८-२५ र १८-२५ को सेटमा आर्मीलाई पराजित गरेको हो । आर्मीले २२-२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच एपिएफकी सृष्टि खड्गी भइन् । उनलाई प्रमुख अतिथि अर्जुनधारा नगरकी उपप्रमुख खड्गमाया पराजुली, नगद सौजन्यकर्ता सीता ढकाललगायतले नगद पाँच हजार र ट्रफी प्रदान गरे ।

 

आजै भएको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई हराएको हो । पुलिसले न्यु डायमन्डलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले १९-२५, १४-२५ र १७-२५ को सोझो सेटमा न्यु डायमन्डलाई स्तब्ध पारेको थियो ।

 

खेलको प्लेयर अफ द म्याच पुलिसकी रिमा कुँवर भइन् । उनलाई नगद सौजन्यकर्ता व्यवसायी बलराम कार्कीलगायतले नगद पाँच हजार र ट्रफी प्रदान गरे ।

 

अर्जुनधारा-६ मा रहेको लक्ष्मी माविको मैदान जारी प्रतियोगिताको फाइनल खेल मंसिर २१ गते हुने सहआयोजक लक्ष्मी माविका अध्यक्ष वीरबहादुर राईले बताए ।

 

झापामा राष्ट्रियस्तरको महिला भलिबल पहिलोपटक भएको हो । प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख र तेस्रो हुने टोलीले समान ३० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए ।

 

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले १५ हजार पाउँदा, प्रत्येक दिनको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रभा काम्बाङले बताइन् ।