बिर्तामोड । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ ।
आर्मीले २१-२५, १८-२५ र १०-२५ को सोझो सेटमा एभरेस्टलाई स्तब्ध पारेको थियो । आजको हारसँगै एभरेस्ट प्रतियोगिताबाट बाहिरिएको छ । एभरेस्टले समूह चरणका दुवै खेलमा पराजय भोगेको थियो ।
खेलको प्लेयर अफ द म्याच आर्मीकी वसन्ती साउद भइन् । उनलाई नगद सौजन्यकर्ता पूर्वखेलाडी कृष्ण गिरीलगायतले नगद पाँच हजार र ट्रफी प्रदान गरे ।
यस्तैगरी, आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ ।
पुलिस १६-२५, १७-२५ र ११-२५ को सोझो सेटमा कोशीलाई स्तब्ध पारेको थियो । आजको हारसँगै कोशी प्रतियोगिताबाट बाहिरिएको छ । कोशीले समूह चरणका दुवै खेलमा पराजय भोगेको थियो ।
खेलको प्लेयर अफ द म्याच पुलिसकी आशिका क्षेत्री भइन् । उनलाई नगद सौजन्यकर्ता व्यवसायी गजेन्द्र साउदेनलगायतले नगद पाँच हजार र ट्रफी प्रदान गरे ।
अर्जुनधारा-६ मा रहेको लक्ष्मी माविको मैदान जारी प्रतियोगिताको फाइनल खेल मंसिर २१ गते हुने सहआयोजक लक्ष्मी माविका अध्यक्ष वीरबहादुर राईले बताए ।
झापामा राष्ट्रियस्तरको महिला भलिबल पहिलोपटक भएको हो । प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख र तेस्रो हुने टोलीले समान ३० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले १५ हजार पाउँदा, प्रत्येक दिनको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रभा काम्बाङले बताइन् ।