ताप्लेजुङ । यहाँ जारी कन्चनजंघा सेसेलुङ महिला गोल्डकप २०८२ को च्याम्पियन फुङलिङ नगरपालिका बनेको छ । भानुजन माविको मैेदानमा आज भएको फाइनल खेलमा मेरिङदेन गाउँपालिकालाई टाइब्रेकरमा रोक्दै फुङलिङले उपाधि रक्षा गरेको हो ।
खेलको निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि टाइब्रेकरमा मेरिङदेनलाई ४-३ गोलअन्तरले पाखा लगाउँदै फुङलिङ च्याम्पियन बनेको हो । खेलमा फुङलिङका लागि कुमारी गुरूङले गोल गरेकी थिइन् भने मेरिङदेनका लागि सुष्मा लिम्बूले बराबरी गोल फर्काएकी थिइन् ।
टाइब्रेकरमा फुङलिङका लागि गोलकिपर सुशिला चौधरी, नेहा चौधरी, सम्झना लिम्बू र कुमारी गुरूङको प्रहार गोलमा परिणत भएको थियो । समिक्षा मगरको प्रहार मेरिङदेनकी गोलकिपर जिना तामाङले रोकेकी थिइन् ।
यस्तै, मेरिङदेनका लागि कप्तान अनुष्का शेर्पा, गोलकिपर जिना तामाङ र सिमरन राईको प्रहारमात्र गोल भएको थियो । मनिता तामाङ र सुष्मा लिम्बूको प्रहार बाहिरिएको थियो ।
गोल्डकपको सर्वोत्कृष्ट खेलाडी मेरिङदेनकी सिम्रन राई बनिन् । उनले नगद १० हजार पाइन् । सर्वाधिक गोलकर्ता मेरिङदेनकै कप्तान अनुष्का शेर्पा भइन् भने उत्कृष्ट रक्षक मनिता तामाङ भइन् । उनीहरूले जनही ८-८ हजार पाए ।
उत्कृष्ट गोलरक्षक फुङलिङकी सुसिला चौधरी, मिडफिल्ड पवित्रा लिम्बू, फरवार्ड समिक्षा मगर र कोच अवय लिम्बू भए । उनीहरूले पनि समान ८-८ हजार प्राप्त गरे ।
गोल्डकपको उदीयमान खेलाडी भने मैवाखोला गाउँपालिकाकी प्रमिला शेर्पा बनिन् । खेलको प्लेयर अफ दी म्याच मेरिङदेन गाउँपालिकाकी गोलकिपर जिना तामाङ भइन् । चासोक तङनाम सञ्चालन समितिले आयोजना गरेको गोल्डकपमा जिल्लाका आठ वटा पालिकाको सहभागिता रहेको थियो ।