बिर्तामोड । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लब फाइनलमा प्रवेश गरेको छ ।

 

आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३-१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो ।

 

एपिएफले २५-२२, २५-१६ र २५-१२ को सेटमा न्यु डायमन्डलाई स्तब्ध पारेको थियो । न्यु डायमन्डले तेस्रो सेटमा एपिएफलाई २५-२२ ले हराएको थियो । एपिएफले कम्तिमा एक लाख रुपैयाँ सुरक्षित गरेको छ ।

 

खेलको प्लेयर अफ द म्याच एपिएफकी जमुना सेन्च्युरी भइन् । उनलाई नगद सौजन्यकर्ता व्यवसायी फणीन्द्र आचार्यलगायतले नगद पाँच हजार र ट्रफी प्रदान गरे ।

 

आजै भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको थियाे । पुलिसले ६-२५, १५-२५ र १७-२५ को सोझो सेटमा आर्मीलाई स्तब्ध पारेको थियो । पुलिसले कम्तिमा एक लाख रुपैयाँ सुरक्षित गरेको छ ।

 

खेलको प्लेयर अफ द म्याच पुलिसकी एलिसा मानन्धर भइन् । उनले नगद पाँच हजार र ट्रफी प्राप्त गरिन् । फाइनल खेल दिउँसो १ बजेदेखि हुने सहआयोजक लक्ष्मी माविका अध्यक्ष वीरबहादुर राईले बताए । झापामा राष्ट्रियस्तरको महिला भलिबल पहिलोपटक भएको हो ।

 

प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख र तेस्रो हुने टोलीले समान ३० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए ।

 

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले १५ हजार पाउँदा, प्रत्येक दिनको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रभा काम्बाङले बताइन् ।