सांकेतिक तस्वीर ।

खुदुनाबारी । झापाको अर्जुनधारा नगरपालिका २ लाप्चेटारका एक वृद्धको भिरबाट खसेर मृत्यु भएको छ । अन्दाजी ६५ वर्षीय स्थानीय यमबहादुर मगरको शान्ति सामुदायिक वनमा पर्ने भिरबाट लडेर ज्यान गएको हो ।

 

प्रहरीका अनुसार आइतबार साँझ करिब ७ बजे मगर आफ्नै पुरानो घर जान्छु भन्दै हिँडेका थिए । तर, उनी घर नफर्किएपछि परिवार र स्थानीयले खोजतलास सुरु गरेका थिए ।

 

खोजतलासका क्रममा शान्ति सामुदायिक वनभित्र पर्ने करिब ६० देखि ७० फिट अग्लो भिरबाट खसेको र उनी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

 

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा खटिएको थियो । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।