शनिश्चरे । पछिल्ला दिन धेरै जाडो बढेसँगै अर्जुनधारा नगरपालिका क्षेत्रका विद्यालयमा ३ दिन बिदा दिइएको छ । झापामा केही दिनयता दिउँसोसमेत न्यूनतम तापक्रम १५ डिग्रीसम्म मापन भएको छ ।
नगर शिक्षा शाखा प्रमुख हरिबहादुर कुवरद्वाराका अनुसार पुस १६ गते बुधबारदेखि १८ गते शुक्रबारसम्म विद्यालयमा बिदा दिइएको हो ।
हाललाई दिइएको बिदा केही समयपछि दिइने जाडो बिदाबाट मिलान गरिने जनाइएको छ । चिसो बढेपछि अधिकांश विद्यालयबाट पठनपाठनमा कठिनाई आएको गुनासो आएसँगै विद्यालय बिदा गर्ने निर्णय गरिएको हो ।
शीतलहर तथा अत्यधिक जाडो बढेका कारणले विद्यार्थीहरूको स्वास्थ्यमा समस्या आउनसक्ने हुँदा अर्जुनधारा नगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक, संस्थागत, धार्मिक तथा पूर्व प्राथमिक विद्यालयहरूमा तीन दिनको लागि हिउँदै बिदाबाट कट्टा हुनेगरी विद्यालयमा नियमित पठनपाठन बन्द गर्नका सूचना जारी गरिएको छ ।
यसैगरी, बिर्तामोड नगरपालिका, मेचीनगर नगरपालिका, बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकाले पनि तीन दिनसम्म विद्यार्थीहरुलाई जाडोको बिदा दिएका छन् ।