खुदुनाबारी । झापाको अर्जुनधारामा आउँदो २८६२औँ सोनाम ल्होसारको अवसरमा भेट्रान फुटबलसँगै सांस्कृति कार्यक्रम हुने भएको छ । आउँदो माघ ५ गतेदेखि सर्प वर्ष सकिएर घोडा वर्ष सुरु हुँदैछ ।

 

आयोजक नेपाल तामाङ घेदुङ अर्जुनधारा नगरसमितिले आज पत्रकार सम्मेलन गर्दै माघ पहिलो साता विविध कार्यक्रम गर्न लागेको जानकारी दिएको हो ।

 

घेदुङ अर्जुनधाराका अध्यक्ष बृखकुमार गोले तामाङका अनुसार अर्जुनधारा ३ स्थित कैदलेमा रहेको ड्रुक नर्बु छ्योर्लिङ गुम्बाको स्तरोन्नति गर्ने मुख्य लक्ष्य लिइएको छ । उनले माघ ९ गते विशेष पूजाआजा गर्ने कार्यक्रम रहेको बताए ।

 

उनका अनुसार माघ १० गते विभिन्न व्यक्तित्वलाई सम्मानसँगै राष्ट्रिय तथा स्थानीय कलाकारको साथमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

 

यसैगरी, ल्होसारकै अवसरमा माघ ३ गतेदेखि ५ गतेसम्म झापाका विभिन्न क्लबहरुबीच भेट्रान फुटबल प्रतियोगिता आयोजना गरिँदैछ । भेट्रान फुटबलमा झापा र इलामका ८ टिमको सहभागिता रहने घेदुङका नगर सहसचिव धनबहादुर बल तमाङले जानकारी दिए ।

 

उनका अनुसार आयोजकसँगै धुलाबारी, बुट्टाबारी, सैनिक, बिर्तामोड, दूधे, खुदुनाबारी र इलामको बसन्त थाक्ले भेट्रान टिमले सहभागिता जनाउने छन् । प्रतियोगिताको विजेताले नगद ४० हजार र उपविजेताले नगद २० हजारसहित आकर्षक ट्रफी पाउने छ ।

 

प्रतियोगिता सम्पन्न गर्न १ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ । भेट्रान फुटबलसँगै ल्होसार पर्व मनाउन र सांस्कृृतिक कार्यक्रम सम्पन्न गर्न ८ लाखभन्दा बढी खर्च हुने आयोजकको अनुमान छ ।

 

पत्रकार सम्मेलनमा अर्जुनधारा नगरपालिकाकी बोर्ड सदस्य चन्द्रा तामाङ, अग्रजहरु सलबहादुर गोले, सन्तबहादुर गोलेलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन घेदुङकी सचिव निरमाया वाइवा तामाङले गरेकी थिइन् ।