झापा । चोरीका सामान र लागूऔषध ब्राउन सुगरसहित दमकमा चार जना पक्राउ परेका छन् । गत माघ ७ गते अन्दाजी दिउँसो ३ः४० बजे दमक ५ चाँदनी टोल बस्ने कमला चम्लागाईको घरबाट अपरिचित व्यक्तिहरुले विभिन्न गरगहना चोरी गरेका थिए ।

 

दमक प्रहरीका अनुसार चम्लागाईंको घरबाट १ तोलाको सुनको चुरा, ६ आनाको सुनको नौगेडी, ६ आनाको तिलहरी, ५ आनाको सुनको औंठी र आधा तोलाको सुनको औंठी, १० आनाको सुनको कानमा लगाउने झुम्का र नगद २५ हजार चोरी गरेका थिए ।

 

घरधनी चम्लागाईले इलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएपछि सीसीटीभी फुटेजलगायतको माध्यमबाट घटनाको अनुसन्धान गर्ने क्रममा शिवसताक्षी २ घर भई हाल दमक ८ बस्ने प्रकाश घतानी र दमक ७ बस्ने कमलबहादुर रन्जितकारले चोरी गरेको सीसीटीभी फुटेजमा देखिएको थियो ।

 

घतानी र रन्जितकारलाई खोजतलास गर्ने क्रममा माघ १० गते दिउँसो ४ बजे दमक ८ बाट पक्राउ गरिएको थियो । उनीहरुलाई प्रारम्भिक सोधपुछ गर्दा चोरीका केही सुनका गरगहनामध्ये १ जोर कानमा लगाउने सुनको झुम्का, १ थान सुनको चुरा, १ थान औंठी र १ थान नौगडीको दाना र सानो टुक्रा १ थान प्रकाश घतानीले दमक ८ स्थित आफू बस्ने कोठामा लुकाई छिपाई राखेको बताएका थिए ।

 

त्यसक्रममा सुनका केही गरगहनाहरु बरामद गरी नौ गेडीको २ वटा दाना कमलबहादुर रन्जितकारले लगी आफ्नै बुबा बर्ष ५५ का नरबहादुर रन्जितकारलाई राख्न दिएको समेत बताएका थिए ।

 

नरबहादुर रन्जितकारलाई माघ १० गते राति ८ बजे दमक १ बाट पक्राउ गरी उनले लगाएको जिन्स पाईन्टको दायाँ गोजीबाट सुनको नौगेडीको २ वटा दानाहरु फेला परेको थियो ।

 

रन्जितकारको घरकोठा खानतलासी गर्ने क्रममा कमलबहादुर रन्जितकारकी श्रीमती सन्ध्या हिङमाङले घरको झ्यालबाट शंकास्पद वस्तु फालेकी थिइन् । शंका लागेर फालेको स्थानमा हेर्दा सेतो बट्टाभित्र प्लाष्टिकबाहेक १ ग्राम ५० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

 

कमलबहादुर रन्जितकार, नरबहादुर रन्जितकार र सन्ध्या हिङमाङलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमक ल्याई थप अनुसन्धान भइरहेको जनाइएको छ ।