विराटनगर । सुनको मूल्य बढेसँगै चाँदी खरिद गर्ने उपभोक्ता दैनिक बढिरहेका छन् । विराटनगरमा सुनचाँदी कारोबार गर्दै आएका व्यवसायीका अनुसार अहिले सुन खरिद गर्न नसक्ने र चाँदी नपाइने स्थितिमा छ ।
विराटनगरका व्यवसायी जुगलकिशोर राठीका अनुसार उपभोक्ताको भिड दुई किसिमको छ । एउटा पुरानो सुन बेच्ने र अर्को काँचो चाँदी किन्ने तर बजारमा चाँदीको अभाव छ ।
राठीका अनुसार चाँदीको खपत औद्योगिक कच्चाका रूपमा बढेको छ । जसले उपभोक्ताका लागि अभाव सिर्जना गरिदिएको हो । राठीले विद्युतीय गाडी र सौर्य ऊर्जाको बढ्दो प्रयोगलाई चाँदी अभावका कारण रहेको बताए ।
उनका अनुसार इभी गाडीको र सौर्य ऊर्जाको ब्याट्रीमा समेत चाँदीको खपत हुन्छ । संसारभर यी दुई वस्तुको प्रयोग बढिरहेको कुरा चाँदीसँग जोडिएको हो ।
सुनचाँदी व्यवसायी सङ्घ मोरङका अध्यक्ष शशिभूषण साहले बजारमा सुन किन्नेभन्दा बेच्ने वा ढाँचा परिवर्तन गर्ने उपभोक्ता धेरै देखिने बताए । चाँदी बेच्नेभन्दा किन्नेको सङ्ख्या पछिल्ला दिनमा ह्वात्तै बढेको साहको भनाइ छ ।
नेपाल राष्ट्र बैङ्कले चाँदी आयातका लागि भुक्तानी सीमा बढाएको पनि छ । औद्योगिक कच्चा पदार्थ प्रयोजनका लागि चाँदी आयात गर्ने उद्योगी–व्यवसायीलाई विदेशी मुद्राको सटही बढाएको छ तर पनि चाँदीको अभाव छ ।
विराटनगरका अर्का सुनचाँदी व्यवसायी अरुण राठीले नेपाल राष्ट्र बैङ्कले पाँच लाख अमेरिकी डलरसम्मको सीमा बढाए पनि त्यसको प्रभाव बजारमा कम देखिरहेको बताए ।
राठीका अनुसार विवाहको सिजनमा समेत सुन र चाँदीको गहना बनाउन सुन खरिद गर्ने कम छन् । कतिपयले काँचो सुन र चाँदी किन्ने र भएका गहनाको ढाँचा परिवर्तन गरेर नयाँ वरबधुलाई लगाइदिने समेत गरेको व्यवसायी बताउँछन् ।