झापा । चन्द्रगढी एयरपोर्टमा ठूलो परिमाणमा लागूऔषधसहित एक युवती पक्राउ परेकी छन् । हिजो साँझ ५ः३५बजे यति एयरलाइन्सको उडानबाट काठमाण्डौ जान लागेकी एक युवती ब्राउन सुगरसहित पक्राउ परेकी हुन् ।

 

एयरपोर्टमा सुरक्षा गार्डको टोलीले शरीर सर्च गर्ने क्रममा हुम्ला खार्पुनाथ गाउँपालिका २ घर भई हाल भारत कोलकातास्थित जापानिज रेष्टुरेन्टमा काम गर्दै आएकी २६ वर्षीया रोशनी बुढाको साथबाट ब्राउनसुगर बरामद भएको हो ।

 

उनले लगाएको सुरुवालको दुईवटै गोजीमा २ वटा प्लाष्टिकको पोकामा प्लाष्टिकबाहेक १४४ दशमलव ४०० ग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको थियो । उनलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

युवतीको बयानको आधारमा सिन्धुपाल्चोक पाँचपोखरी ६ बस्ने ३० वर्षीय सन्तोष बञ्जारा र रामेछाप दोरम्बा ५ गुन्साल बस्ने २१ वर्षीय थोर्मस तामाङलाई भद्रकालीबाट लागूऔषध नियन्त्रण ब्युरो काठमाडौको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।