फाइल तस्वीर ।

झापा । फागुन २१ का लागि घोषित प्रतिनिधि सभा निर्वाचनका लागि बुधबार९आजबाट० नेपाली सेना परिचालन भएको छ । निर्वाचन पूर्वको सुरक्षा योजनाअनुसार नेपाली सेना आजदेखि फिल्डमा निस्किएको हो ।

 

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार एकीकृत निर्वाचन सुरक्षा योजनाअन्तर्गत आजबाट देशभर ७९ हजार ७२७ सेना खटिँदैछन् । उनीहरूले आवश्यकताअनुसार गस्ती गर्ने बताइएको छ ।

 

संवेदनशील क्षेत्र तथा मतदानस्थलहरुको अवस्था हेरेर संयुक्त गस्ती समेत हुने बताइएको छ । ‘संवेदनशीलताका आधारमा सेनाले गस्ती छ । निर्वाचन अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगको समन्वयमा तेस्रो घेरामा रहेर सेनाले ड्युटी गर्छ’ सहायक रथी बस्नेतले भने ।

 

मन्त्रिपरिषद्को सिफारिसमा ११ मंसिरमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनका लागि स्वीकृति दिएका थिए । त्यसपछि सेनाले एकीकृत निर्वाचन सुरक्षा योजना बनाउने, त्यसअनुसार एकीकृत तालिम तथा अभ्यास गर्ने काम समेत गरेको थियो ।

 

९ असोजको केन्द्रीय सुरक्षा समिति बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ तर्जुमा गर्नका लागि कार्यदल गठन गरेको थियो ।

 

यो कार्यदलले ३० कात्तिकमा गृहमन्त्री ओमप्रकाश अर्याल संयोजक रहेको केन्द्रीय सुरक्षा समितिमा बुझाएको प्रतिवेदन पास भएको थियो । अहिले यही एकीकृत निर्वाचन सुरक्षा योजना अनुसार सेना परिचालनदेखि सुरक्षाका अन्य ड्युटीहरू पनि सुरु भएका छन् ।