नेपालले भाेलि खेल्ने मुम्बइस्थित वानखेडे स्टुडियम ।

झापा (एजेन्सी) । १०औँ संस्करणको आईसीसी टी-२० विश्वकप आजदेखि भारत र श्रीलङ्कामा शुरू हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्सले खेल्दैछन् । यो खेल श्रीलङ्काको कोलम्बोमा रहेको सिंहाली स्पोर्ट्स क्लब क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान सवा ११ बजे शुरू हुनेछ ।

 

आजको अर्को खेलमा दिउँसो सवा तीन बजे वेस्ट इन्डिज र स्कटल्याण्ड इडेन गार्डेन्स्मा तथा बेलुका सवा ७ बजे आयोजक भारत र अमेरिकाबीच वानखेडे स्टेडियममा हुँदैछ । यो विश्वकपमा नेपालले पनि खेल्दैछ ।

 

नेपालले भोलि मुम्बईमा इङ्ग्ल्यान्डसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ । यो विश्वकपमा सुरक्षा कारण देखाउँदै बङ्गलादेश भारत आउन नमानेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले उसको ठाउँमा स्कटल्यान्डलाई समावेश गरेको छ ।

 

प्रतियोगितामा २० वटा टोलीलाई ४ वटा समूहमा बाँडिएको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, नामिबिया र नेदरल्यान्ड्स छन् । समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान छन् । समूह ‘सी’ मा नेपाल, इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन् । इटालीले पहिलो पटक टी-२० विश्वकप खेल्न लागेको हो ।

 

समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (यूएई) र क्यानडा छन् । प्रतियोगिता आउँदो मार्च ८ तारिखसम्म चल्नेछ । अहिलेसम्म ६ वटा टोली टी-२० विश्वकपको उपाधि जितेका छन् । भारत, इङ्ग्ल्यान्ड र वेस्ट इन्डिज २-२ पटक तथा पाकिस्तान, श्रीलङ्का र अस्ट्रेलिया १-१ पटक विजेता बनेका छन् ।