धरान । झापा ११ फुटबल क्लब, झापा सुनसरीमा जारी २६औं बुढासुब्बा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको प्रिक्वाटरफाइनलतर्फ झापाले रोयल थिम्पु फुटबल क्लब भुटानलाई २-० ले हराउँदै अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
धरान रंगशालामा भएको खेलमा झापाका लागि ३६औं मिनेटमा सुनिल खड्का र ६३औं मिनेटमा राजेश दाहालले गोल गरे । खेलको म्यान अफ दि म्याच पनि झापाका गोलकर्ता राजेश दाहाल घोषित भए ।
प्रतियोगिताअन्तर्गत माघ २४ गते शनिबारको पहिलो क्वाटरफाइनल खेल प्लानिङ ब्वाईज युनाइटेड काठमाडौं र न्युरोड टिम काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।
धरान फुटबल क्लब सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन २ गतेका दिन हुनेछ ।