बिर्तामोड । झापाका खेल पत्रकार रमेश समदर्शी राईलाई सातौँ झापा गोल्डकप आयोजक समितिले शुक्रबार सम्मानसहित पुरस्कृत गरेको छ ।

 

झापाको डोमालाल राजवंशी रंगशालामा जारी झापा गोल्डकपको अवसरमा अग्रज पत्रकार समदर्शीलाई विशेषगरी खेल क्षेत्रलाई प्राथमिकतामा राखी खेलाडी, प्रतियोगिता र खेल संरचनाको विकासका लागि पुर्याएको योगदानको कदर गर्दै नगदसहित सम्मान गरिएको हो ।

 

नेपाल खेलकुद पत्रकार मञ्च झापाका संस्थापक अध्यक्ष समदर्शीले खेल पत्रकारितालाई संस्थागत रुप दिन, खेलाडीलाई प्रोत्साहन गर्न तथा झापालाई खेल गतिविधिको केन्द्रका रुपमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै आयोजकले कदरस्वरुप विनोद बस्नेत स्मृति फुटबल प्रतियोगितामा सम्मान गरेकाे हाे ।

 

अर्जुनधारा प्रेस क्लबका अध्यक्ष तथा न्यूज सञ्जाल डटकमका सम्पादक समदर्शी गोल नेपाल डटकमका कोशी प्रदेश संयोजक पनि हुन् । तीन दशकदेखि पत्रकारितामा आवद्ध उनलाई आयोजकका अध्यक्ष केदार गिरी, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोख्रेल र नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले सम्मान गरेका थिए ।