बिर्तामोड । विदेशी खेलाडी चम्किँदा मछिन्द्र फुटबल क्लबले चारपटकको झापा गोल्डकप विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई ४-० ले पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।

 

मछिन्द्रका स्ट्राइकरसमेत रहेका विदेशी खेलाडी जोनाथन जोरिल्लाको ह्याट्रिक मद्दतमा मछिन्द्र फाइनल प्रवेश गरेको हो । मछिन्द्रले उपाधिका लागि सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।

 

मछिन्द्रले खेलको चौथो मिनेटमै जोनाथन जोरिल्लाको गोलबाट अग्रता लिएको हो । अयोला हमजातको क्रस पासमा डिबक्समा अनमार्क रहेका जोरिल्लाले वान टचमा गोल गरेका थिए । खेलको २४औँ मिनेटमा मछिन्द्रले पेनाल्टी पाउँदा जोनाथनले नै अग्रता दोब्बर बनाए ।

 

पहिलो हाफ २-० को बराबरी भएपछि दोस्रो हाफमा आर्मी दबाबमा परेको थियो । मछिन्द्रले खेलको ५२औँ मिनेटमा प्रदिप बुढाथोकीले डिबक्समा मिलाइदिएको पासलाई जोनाथनले पोष्टको दिशा दिँदै ह्याट्रिक पूरा गरेका हुन्

 

खेलको अतिरिक्त समयमा मछिन्द्रका सब्सिच्युट खेलाडी रेजिन सुब्बाले एक गोल थपे । मैदानको मध्यभागमा पाएको बललाई आर्मीका दुई डिफेन्डरलाई बिट गरेर एकल प्रयासमा उनले गोल गरेका थिए ।

 

खेलको प्लेयर अफ द म्याच विजेता टिम मछिन्द्रका जोनाथन जोरिल्ला घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताभरि प्लेयर अफ द म्याचको पुरस्कार अमेरिका निवासी रोशनलाल श्रेष्ठ तथा उनका साथीहरुले प्रदान गर्दै आएका छन् ।

 

पहिलो दिनदेखि फाइनल खेलसम्म टिकट लिएर एकजना दर्शकलाई यामाहाको स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ ।

 

प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागततर्फ उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ ।