बिर्तामोड । बिहीबार दिउँसो हुलहुज्जत गरी एक समूहले प्रहरी चौकी बिर्ताबजार तोडफोड गरेको छ । कुटपिटकाे विवादपछि पक्राउ गरिँदा चाैकी ताेडफाेड गरिएकाे हाे ।

 

दिउँसो १ः३० बजे बिर्तामोड ३ को काजी पाटी प्यालेसमा काम गर्ने बाह्रदशी ४ का सुजन राईलाई सोही पाटी प्यालेसका सञ्चालक स्थानीय २९ वर्षीय आकाश खड्का, सोही प्यालेसमा काम गर्ने ४० वर्षीय कोमल शिवाकोटी र अर्जुनधारा ९ का २७ वर्षीय बिपिन बुढाथोकीले सामान्य विवादमा कुटपिट गरेका थिए ।

 

प्रहरीले कुटपिट गर्ने तीनै जनालाई नियन्त्रणमा लिएर प्रहरी चौकी बिर्ताबजारमा ल्याएर राखेकोमा सुजन राई पक्षका करिब ३५–४० जनाको संख्यामा उत्तेजित भीड चौकीमा आएर तोडफोड गरेका हुन् ।

 

उनीहरूले तोडफोड गर्दा प्रहरी चौकी बिर्ताबजारको कार्यालयको अगाडिको झ्यालको सिसा फुटेको छ भने कार्यालयको कम्पाउण्डभित्र रहेको कम्प्युटर टेवलसमेत तोडफोडबाट क्षति पुगेको छ ।

 

कुटपिटमा संलग्न तीनै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । घाइते राईको बीएण्डसी अपतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चौकी तोडफोडमा संलग्न फरार रहेकाले खोजतलास भइरहेको जनाइएको छ ।