झापा । झापाको बिर्तामोडस्थित हर्कलाल मार्गमा गएराति ९ः२० बजे कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

 

बिर्तामोड ४ कञ्चनजंघा स्कुल छेउस्थित हर्कलाल मार्गमा बिर्तामोडबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्र. ०१-०२५ च ६०५० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्र. १-०१-०१६प ३९५९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

 

दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर १३ चारआलीका २५ वर्षीय विशाल पौडेल र मोटरसाइकल पछाडि सवार कनकाई ६ का २५ वर्षीय चन्द्रकिशोर चापागाई घाइते भएका थिए ।

 

दुवै घाइतेकाे उपचारका लागि बीएण्डसी अस्पताल पुर्‍याइएकोमा डाक्टरले चेकजाँच गर्दा चालक पाैडेलकाे मृत्यु भइसकेको थियो । पछाडि सवार चापागाईको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

 

कार चालक बिर्तामोड ६ का २५ वर्षीय चिराग सिन्हालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।