झापा । प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मत गणना ३ क्षेत्रमा मात्रै बाँकी रहँदा समानुपातिकतर्फको भने जारी नै छ। तर, ६ पार्टीले मात्रै ‘थेस्रहोल्ड’ पार गर्ने अवस्था पछिल्लाे नतिजाले देखाएकाे छ ।
यद्यपि, आधाभन्दा बढी मत गणना भइसकेको छ। निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार ७६ लाख २९ हजार ६४८ मत गणना भइसकेको छ। जारी मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३६ लाख ९० हजार ३६३ मत प्राप्त गरेको छ। प्रतिशतमा हेर्दा यो ४८.४८ हो।
त्यस्तै, दोस्रोमा नेपाली कांग्रेस रहेको छ। कांग्रेसले १२ लाख ४६ हजार ४६२ मत प्राप्त गरेको छ जुन १६.३५ प्रतिशत हो। तेस्रो स्थानमा रहेको नेकपा एमालेले १० लाख ५६ हजार ११५ मत प्राप्त गरेको छ। यो १३.८४ प्रतिशत हो।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीले ५ लाख ४३ हजार ३०४ मत ल्याएको छ। यो प्रतिशतमा हेर्दा ७.११ प्रतिशत हो। याे समाचार तयार पार्दासम्म पाँचौ स्थानमा रहेको राप्रपाले २ लाख ६० हजार २४ मत ल्याएको छ। यो ३.४१ प्रतिशत हो।
अनि, छैटौं स्थानमा श्रम संस्कृति पार्टी रहेको छ। यो पार्टीले २ लाख ४७ हजार ८५६ मत प्राप्त गरेको छ। यो ३.२५ प्रतिशत हो। समानुपातिकमा ३ प्रतिशतको ‘थेस्रहोल्ड’ (मत सीमा) पार गर्नेले मात्रै सिट पाउँछन्।
समानुपातिकतर्फका ११० सिटको बाँडफाँट मत प्रतिशतका आधारमा गणाना हुन्छ। यदि यी बाहेकका अन्य पार्टीले ३ प्रतिशत मत ल्याए पनि सिटको बाँडफाँट हुने छैन। किनभने प्रत्यक्षतर्फ एक सिट पनि नजितेका पार्टीले राष्ट्रिय दलको मान्यता नपाउने भएकाले सिटको बाँडफाँट हुने छैन।