शनिश्चरे । झापाको अर्जुनधारा ७ स्थित डाङग्रे बाबा-सेतीदेवी पाथिभरा माता धामको पाँचौँ वार्षिकोत्सवको अवसरमा आजदेखि तीनदिने धार्मिक महोत्सव आयोजना हुँदैछ ।
महोत्सवको पहिलो दिन कलश यात्रा, उद्घाटन तथा नगर परिक्रमा कार्यक्रम तय भएको आयोजकले जनाएको छ। दोस्रो दिन धामी-झाँक्रीद्वारा विशेष पूजा-अर्चना गरिने कार्यक्रम रहेको छ भने तेस्रो दिन दाता सम्मान, समापन समारोहसँगै भजन-कीर्तन तथा आरती आयोजना गरिनेछ।
धाममा तीनदिन नै निशुल्क स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरिने भएको छ । जहाँ स्वास्थ्य परीक्षण गर्नका लागि उपस्थित हुन समितिले आह्वान गरेको छ ।
धाममा हाल १५३ जना आजीवन सदस्य रहेका छन्। संस्थाका अध्यक्ष इन्द्रबहादुर मगर, सचिव रोशन नेम्वाङ र उपाध्यक्ष कमला ढकाल पौडेलको नेतृत्वमा कार्यक्रम सञ्चालन हुनेछ।
स्थानीय धार्मिक तथा सांस्कृतिक परम्परालाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा भक्तजनहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।