ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा दुई करोड छ्यानब्बे लाखभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । पछिल्लो नौ महिना अर्थात चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा उक्त भेटी रकम सङ्कलन भएको हो ।

 

पाथीभरा क्षेत्र विकास समितिले सोमबार बेलुकी सार्वजनिक गरेको विवरणअनुसार नौ महिनाको अवधिमा दुई करोड ९६ लाख ४२ हजार ६ सय भेटी सङ्कलन भएको छ । चालु आवको साउनदेखि चैत मसान्तसम्ममा उक्त भेटी रकम सङ्कलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए ।

 

कार्यकारी निर्देशक हाङ्बाङका अनुसार नौ महिनाको अवधिमा सबैभन्दा बढी भेटी रकम मङ्सिर र कम भदौ महिनामा सङ्कलन भएको छ । मङ्सिर महिनामा ७५ लाख ४९ हजार एक सय र भदौमा नौ लाख ९७ हजार भेटी सङ्कलन भएको थियो ।

 

पाथीभरा दर्शन गर्न आउने भक्तजनले चढाएका तथा दान गरेको भेटी रकम समितिले सङ्कलन गर्ने गरेको छ । समितिले सङ्कलन गर्ने भेटी रकम पछिल्लो समय प्रत्येक महिना अर्थात मासिकरुपमा सार्वजनिक गर्ने गरेको छ ।