झापा । ग्लोबल आइएमई बैंकका सिइओसहित चारजना उच्च अधिकारीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्धा दायर भएको छ ।

 

ग्लोबल आइएमई बैंकका कर्मचारी दमक ८ लक्ष्मीमार्ग टोलका ४२ वर्षीय पिताम्बर खड्काले हिजो साँझ अन्दाजी ५ः१५ बजे आफ्नै एकतले पक्की घरको कोठाको सिलिङ फेन झुन्ड्याउने फलामको हुकमा प्लाष्टिकको डोरीमा पासो लागेर आत्महत्या गरेका थिए ।

 

दबाबमा राजीनामा दिन बाध्य पारिएको भन्दै कर्मचारी खड्काले आत्महत्याअघि सामाजिक सञ्जालमा सिइओ सुरेन्द्रराज रेग्मीसहित चार जनाको नाम सार्वजनिक गरेका थिए। मृतक खड्काको परिवारले ग्लोबल आइएमई बैंक केन्द्रीय कार्यालयका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, उप महाप्रवन्धक दीपचन्द्र रेग्मी र मानव संशाधन विभाग प्रमुख अनामिका कुँवर सिंहविरुद्ध आत्महत्या दुरुत्साहन मुद्धा दर्ता गराएका हुन् ।

 

मृतक परिवार जाहेरी दिन आज बिहान इलाका प्रहरी कार्यालय दमक पुगेका थिए । दमक प्रहरीले चार जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्द गरेको हो ।

 

जाहेरी दर्ता भएपछि प्रहरीले आत्महत्या दुरुत्साहन अन्तर्गत अनुसन्धान शुरु गरेको जनाइएको छ । खड्काले आत्महत्या गर्नुअघि ती ४ जनाको फोटो राख्दै लेखेका थिए,‘ तिमी हरामखोरहरुले मलाई मार्‍यौ ।’ सिइओसहित चारजना पक्राउ नपरेसम्म शव नबुझ्‌ने परिवारले अडान लिएका छन् । बैंकका सिइओ नेपालमै नरहेको बुझिएको छ ।