बिर्तामोड । झापाको बिर्तामोडबाट पाँच किलोभन्दा बढी गाँजासहित दुई युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा अर्जुनधारा र भोजपुरका युवा छन् ।

 

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड ४ स्थित भानुभक्त उप्रेतीको घरमा भाडामा बस्दै आएका व्यक्तिहरूको डेरा कोठामा खानतलासी गरेको हो।

 

खानतलासीका क्रममा कोठाभित्र रहेको जेब्रा झोलामा प्लास्टिकका चार वटा पोकामा राखिएको प्रतिबन्धित लागुऔषध गाँजाजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। डिजिटल तराजुबाट तौल गर्दा उक्त पदार्थको तौल ५ किलो ९० ग्राम रहेको थियो।

 

प्रहरीले गाँजासहित अर्जुनधारा नगरपालिका ७ निवासी ३० वर्षीय विनोद मगर र भोजपुरको हतुवागढी गाउँपालिका ४ खैराङका करिब २० वर्षीय सागर राईलाई नियन्त्रणमा लिएको छ। दुवै जनालाई इप्रका अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।