बिर्तामोड । झापाको टाघनडुब्बामा लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरु दमक र विराटनगरका युवा छन् ।
उनीहरूको साथबाट १४ ग्राम ७१ मिलिग्राम ब्राउनसुगर फेला परेको छ। हिजो साँझ ६ः३० बजे झापा गाउँपालिका ४ टाघनडुब्बामा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका पैदल यात्रीलाई शंका लागेर चेकजाँच गरेकाे थियाे ।
चेकजाँचका क्रममा दमक १० बस्ने ३२ वर्षीय सुरज रायले लुकाई छिपाई ल्याउँदै गरेको ६ ग्राम १ मिलिग्राम र विराटनगर ३ बस्ने ४२ वर्षीय बाबुराम दर्जीको साथबाट ८ ग्राम ७० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।
बरामद ब्राउन सुगरसहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरी निरीक्षक सुमन बानियाँले जानकारी दिएका छन् ।