झापा । पूर्वी नेपालमा प्रमुख नगदेबालीका रुपमा रहेको चिया उद्योग यति बेला संकटमा परेको छ । भारतले विभिन्न बहाना बनाएर निर्यातमा अवरोध सिर्जना गरेसंगै चिया किसान तथा उद्योगीहरु निराश बनेका छन् ।

 

अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको नेपाली चिया क्षेत्र यतिबेला इतिहासकै गम्भीर संकटबाट गुज्रिरहेको छ । विगत लामो समयदेखि वैदेशिक मुद्रा आर्जन र ग्रामीण रोजगारीको मुख्य स्रोत बनेको नेपाली चियालाई भारतीय पक्षले नयाँ कानुनी अड्चन देखाएर निर्यातमा ठप्प पारेपछि चिया उद्योगीहरूले हात उठाउनु परेको हो ।

 

इलाम र झापाका गरी कुल ८३ वटा चिया उद्योगहरूले आफ्ना सम्पूर्ण उत्पादन तथा व्यावसायिक गतिविधि पूर्णरूपमा बन्द गर्ने बाध्यात्मक घोषणा गरेका छन् । यस निर्णयले दशकौंदेखि चिया खेतीमा आश्रित हजारौं किसान र श्रमिकहरूको भविष्य अन्योलमा परेको छ ।

 

असार १ गते सोमबारबाट इलाम र झापासहितका जिल्लामा रहेका चिया उद्योगहरु बन्द भएका हुन् । उद्योग बन्द भएसंगै हजारौं श्रमिक बेरोजगार बनेका छन् भने चिया किसानहरु चिन्तित बनेका छन् ।