शनिश्चरे । झापाको अर्जुनधारा ८ स्थित शनिश्चरे बजारबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित स्थानीय एक युवालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिश्चरे बजारस्थित सब्जी लाइनमा दिउँसो ३ बजेतिर लागूऔषध ब्युरो काँकडभिट्टा र प्रहरी चौकी शनिश्चरेबाट खटिएको संयुक्त टोलीले स्थानीय ४१ वर्षीय सरोज गहतराजलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

 

लागूऔषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचना पाएपछि चौकी इन्चार्ज प्रहरी नायव निरीक्षक प्रमोद रेग्मी र व्यूरोको संयुक्तरूपमा खटिएकाे सुरक्षाकर्मीको टोलीले निगरानी बढाएकाे थियाे ।

 

बिर्तामोडबाट शनिश्चरेतर्फ आउँदै गरेको बा. ५७ प ७७३३ नम्बरको मोटरसाइकललाई शंका लागी चेकजाँच गर्दा गहतराजको साथबाट प्लास्टिकबाहेक २३ ग्राम ५५० मिलिग्राम ब्राउसुगर र अन्य लागूपदार्थ फेला परेको थियो ।

 

प्रहरीका अनुसार गहतराजको साथबाट ३० थान एनटेन लागूऔषध र २ थान मोबाइल फेला पारी मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।