झापा । मादक पदार्थ र लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने क्रम बढेपछि झापामा ट्राफिक प्रहरीले चेकजाँच अभियानलाई कडाइका साथ जारी राखेको छ ।
बिर्तामोड ६ मा आज सञ्चालन गरिएको विशेष ट्राफिक चेकजाँच अभियानमा २०९ सवारी साधनका चालकहरुलाई परीक्षण गरिएको थियो । चेकजाँचका क्रममा ५ जना चालक तथा सहचालकले लागूऔषध सेवन गरेको पुष्टि भएको छ। त्यसमध्ये एकजनाले मादक पदार्थ पनि सेवन गरेका थिए ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा पठाइएको प्रहरीले जनाएको छ। यसअघि गत साता झापामा मादक पदार्थ र लागूपदार्थ सेवन गरी सवारी चलाउने ७ जना चालक पक्राउ परेका थिए ।