झापा । झापाको कन्काई नगर क्षेत्रमा साना बालबालिकाका सुनका मुन्द्रा चोर्ने जेठी सासु र बहिनी ज्वाइँ पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा कनकाई ५ बेनुवाजा टोल बस्ने ३६ वर्षीया बिमला पाँचकोटी र उनका बहिनी ज्वाइँ शिवसताक्षी ९ बस्ने ३० वर्षीय बिजु भन्ने विजय दर्जी रहेका छन् ।
गत असार २४ गते साँझ ६ बजे कनकाई ३ बस्ने जयराम श्रेष्ठका छोरा ९ वर्षीय प्रजन श्रेष्ठलाई घरनजिकै खेल्ने क्रममा उनीहरुले ललाई फकाई कानमा लगाएको दुई आना सुनको दुईवटा कुण्डल लुटेर लगेका थिए । लगत्तै बालकका बुवा जयरामले असार २५ गते इलाका प्रहरी कार्यालय सुरुङगामा लिखित निवेदन दिएका थिए ।
इप्रका सुरुङ्गाबाट प्रहरी बरिष्ठ नायव निरीक्षक रबि राईको कमाण्डमा टोली खटिएर अनुसन्धान गर्ने क्रममा सीसीटीभी फुटेजको आधारमा उक्त सुन लुट्ने बिमला पाँचकोटी र उनका बहिनी ज्वाइँ विजय दर्जी रहेको पहिचान खुलेको थियो ।
सोही राति ११ः३० बजे बिमला पाँचकोटीलाई घरबाटै प्रहरीले नियन्त्रणमा लिएको हो । बिमलाको साथबाट सुन फेला परेको थिएन । विजय दर्जी फरार रहेकाले खोजतलास भइरहेको थियो । त्यसको दुई दिनपछि विजय दर्जीलाई कनकाई ३ स्थित कृषि बजारबाट पक्राउ गरिएको हो ।