झापा । झापामा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड र इलामका युवा रहेका छन् । भारतबाट लागूऔषध लिएर आउँदै गर्दा काँकरभिट्टाको मेची पुलमा उनीहरु पक्राउ परेका हुन् ।

 

हिजो दिउँसो ३ बजे मेचीनगर ६ स्थित पुरानो मेची पुलमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका बिर्तामोड १ बस्ने ३० वर्षीय मो. सद्धाम हुसेन र बिर्तामोड ५ का १९ वर्षीय मुबारक अलीको साथबाट ३ ग्राम २८० मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो ।

 

यसैगरी, इलाम फाकफोकथुम ३ का ४१ वर्षीय रमेश थेगिमको साथबाट प्लाष्टिकसहित ३ ग्राम ४४० मिलिग्राम र प्लाष्टिकबाहेक २ ग्राम ८०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । तीनै जनालाई नियन्त्रणमा लिई इप्रका काँकरभिट्टामा ल्याई थप अनुसन्धान भइरहेको जनाइएको छ ।