झापा । झापा प्रहरीले फेरि ठूलो मात्रामा लागूऔषध ब्राउन सुगरसहित एक जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक रहेका छन् ।

 

शुक्रबार साँझ ५ बजे बिर्तामोड ५ मा रहेको देउराली होटलको कोठा नम्बर ४०४ मा लागूऔषध बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाबाट संयुक्त प्रहरी टोली खटिएको थियो ।

 

टोलीले उक्त होटलको कोठामा बसिरहेका भारत दार्जिलिङ जिल्ला खोरीबारी ग्रामथान पंचायत बस्ने ३४ वर्षीय कमल बर्मनलाई चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकबाहेक ३१ ग्राम १७० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

 

उनी भारतबाट लागूऔषधको कारोबार गर्न नेपाल आएका हुन् । उक्त लागूऔषधसहित उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।