झापा । दश दिनअघि विभिन्न आरोपमा पक्राउ परेका बिर्तामोडका गंगा गिरीले चलाएको भारतीय नम्बरको गाडी मेची भन्सार कार्यालयले सिज गरेको छ ।
उनले चलाउँदै आएको मारुती सुजुकी कम्पनीको डब्लुबी ७४ बीआर ७२१४ नम्बरको कालो रंगको जीप अवैध ठहरिएपछि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी रञ्जन अवाले बताए ।
उक्त गाडी गिरीको स्वामित्वमा नरहेको र एकजना भारतीय नागरिकको नाममा देखिएको डीएसपी अवाले जानकारी दिए । त्रिशुल सेक्युरिटी कम्पनी सञ्चालन गर्दै आएका बिर्तामोड ४ निवासी पूर्व भारतीय सैनिक ४४ वर्षीय गिरीलाई खोजतलास गर्ने क्रममा असार २५ गते बिर्ताबजारबाट प्रहरीले पक्राउ गरेको थियो ।
उनीमाथि आपराधिक लाभ (एक्स्टर्सन), शरीर बन्धक र संगठित अपराध गरेको आरोप लागेको छ । उनी अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन् । अदालतबाट म्याद थप गरी उनीमाथि अनुसन्धान जारी रहेको डीएसपी अवाले जानकारी दिएका छन् ।