म्याग्दीमा जन्मिएका निर्मल पुर्जा (निम्स दाइ) बेलायती सेनामा काम गर्थे । जबसम्म उनी गोरखा सैनिकमा सक्रिय थिए, तबसम्म उनको पहिचान अन्तर्राष्ट्रिय आरोहीका रूपमा स्थापित बनिसकेको थिएन ।
यद्यपि, उनी गोरखा सैनिकमै हुँदा आरोहण यात्रा भने थालिसकेका थिए । उनको आधिकारिक वेवसाइट निम्सदाइ डटकमका अनुसार उनले कुल १६ वर्ष सेनामा बिताए । त्यसमध्ये उनले ६ वर्ष गोरखा र १० वर्ष ‘यूके स्पेसल फोर्स’ (एसबीएस) मा बिताए ।
म्याग्दीमा जन्मिएका उनी १८ वर्षको उमेरमा सन् २००३ मा गोरखा सैनिकमा भर्ती भएका थिए । म्याग्दीमा जन्मिए पनि उनी चितवनमा हुर्किएका थिए । सोहीकारण उनको प्रारम्भिक जीवनमा भने हिमाल जोडिएको थिएन ।
पढाइमा तिक्ष्ण निम्स दाइको बाल्यकालको शोख हिमाल चढ्ने पनि थिएन । उनको अर्कै लक्ष्य थियो, आफ्ना बुबा र दाजुहरू झैं बेलायती सेनामा गोरखा भर्ती हुनु । सोही क्रममा उनले २००३ मा आफ्नो पहिलो सपना पूरा गरेका थिए ।
आफ्नो सपना पूरा गर्न जुनसुकै कदम उठाउन पछि नपर्ने निम्स दाइ २००९ मा गोरखा सैनिकबाट स्पेसल बोट सर्भिसमा आबद्ध हुने पहिलो गोरखा सैनिक बने । यस यूनिटमा मुख्यतया रोयल मरिन्स कमान्डोहरू हुन्छन् । यो युनिट गोप्य र रणनीतिक कारबाहीमा विशेष दखल राख्छ ।
उनले २०१२ देखि हिमाल आरोहण यात्रा थालेका हुन् । स्पेसल फोर्सको ड्युटीबाट छुट्टीमा आएको मौकामा उनले सगरमाथा आधार शिविरको यात्रा तय गरे । यो यात्राले उनलाई हिमालप्रतिको लगाव र महत्त्वाकांक्षा ह्वात्तै बढायो ।
सोही यात्राबाट काठमाडौं फर्किएपछि उनले आफ्ना गाइडसँग आरोहण सिक्ने इच्छा व्यक्त गरे । सोही क्रममा उनी गाइडसँगै ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे इस्ट हिमाल आरोहणमा गए र सफल भए ।
त्यो उनको हिम चुचुरातर्फको पहिलो पाइला थियो । सोही आरोहणपछि भने उनी सैन्य सेवामै फर्किए । एसबीएसमा उनी अधिक चिसो मौसमको युद्धकला सम्बन्धी विषयविज्ञको भूमिकामा पुगे ।
सन् २०१९ मा ६ महिनाभित्र ८ हजार मिटर अग्ला १४ हिमालचुली चुमेर कीर्तिमान बनाउन नेपाल फर्किएका निम्स दाइ बेलायती सेनाको आकर्षक जागिर छाडेर आएका थिए ।
निम्स दाइसँग जोडिएका डेभिडले सोही अभियानमा १४ वटै हिमाल आरोहण गर्ने कान्छो आरोहीको कीर्तिमान बनाउन सफल भए । २०२१ मा माउन्ट केटु निम्स दाइ र डेभिड सहित १० नेपाली आरोही टोलीले विन्टर सिजनमा पहिलो पटक आरोहण गरी विश्व कीर्तिमान बनाएको थियो ।