एजेन्सी । दक्षिण अमेरिकी मुलुक कोलोम्बियामा हिजो बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

 

भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ । भग्नावशेषमा धेरैजना पुरिएको हुनसक्ने भएकाले मृतकको संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ ।

 

भूकम्पको केन्द्रबिन्दु राजधानी बोगोटाबाट करिब २८० किलोमिटर पश्चिममा रहेको उत्तरपश्चिमी चोको क्षेत्रको सान होसे डेल पालमारमा थियो । भूकम्पअघि सावधानीका लागि अलार्म बजाइएपछि मानिसहरू घर तथा भवनबाट बाहिर सडकमा निस्किएका भिडियोहरू सार्वजनिक भइरहेका छन् । भूकम्प इक्वेडर, पानामा र भेनेजुएलामा पनि महसुस गरिएको थियो ।

 

भूकम्पमा घाइते तथा मृत्यु हुनेको खोजी तथा उद्धार जारी रहेको अधिकारीहरूले जनाएका छन् । कोलोम्बिया विभिन्न टेक्टोनिक प्लेटको संगमस्थलमा अवस्थित भएकाले यहाँ भूकम्पीय गतिविधि तीव्र हुने गर्छ । त्यसैले देशमा शक्तिशाली भूकम्पहरू पनि बारम्बार जाने गरेका छन् ।

 

सन् १९५० यता कोलोम्बियामा भूकम्पका कारण ३ हजार ५ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । तीमध्ये सबैभन्दा विनाशकारी भूकम्प सन् १९९९ मा गएको थियो । त्यतिबेला ६.२ म्याग्निच्युडको भूकम्पले आर्मेनिया, कालार्का, पेरेइरा, काल्डास र हुइला क्षेत्रमा क्षति पुर्‍याउँदा १ हजार १८५ जनाको मृत्यु भएको थियो ।