इलाम । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने सडक (फाल्गुनन्द मार्ग) मा मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

 

भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका लागि रोक लगाइएको माङसेबुङ गाउँपालिकाका कार्यवाहक अध्यक्ष विनोदकुमार नेम्बाङले बताए । अविरल वर्षाका कारण माङसेबुङ गाउँपालिका क्षेत्रमा सडकका विभिन्न स्थानमा क्षति पुगेपछि यातायात सञ्चालन जोखिमपूर्ण बनेको छ ।

 

क्षतिग्रस्त सडकको मर्मतसम्भार तथा पुनःस्थापनाको काम भइरहेकाले सडकलाई सुरक्षित र व्यवस्थित बनाउन मालवाहक सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको अध्यक्ष नेम्बाङको भनाइ छ ।

 

वर्षाका कारण सडक क्षतिग्रस्त भएपछि दैनिक आवतजावत गर्ने दर्जनौँ मालवाहक सवारीसाधनका कारण विभिन्न स्थानमा जाम हुन थालेको छ । मर्मतसम्भारको काम नसकिएसम्म यात्रुवाहक सवारीसाधनको आवतजावत सहज बनाउन मालवाहक सवारीमा रोक लगाइएको हो ।

 

यो सडकले सडक झापा र इलामलाई जोड्छ । झापा, इलाम र पाँचथरका हजारौँ नागरिकले आवतजावत गर्नुका साथै कृषि उत्पादन बजारसम्म लैजान यही सडक प्रयोग गर्दै आएका छन् ।