काठमाडौँ । पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइपुर्याइएको छ।
गत साउन १४ गते गएको हिमपहिरोमा परी ज्यान गुमाएका किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव हवाई विमानमार्फत आज काठमाडौं ल्याइपुर्याइएको हो।
दुर्घटनामा ज्यान गुमाएका पुरबहादुर गुरुङ ‘युक्त’को शव भने साउन २१ गते नै नेपाल ल्याइएको थियो। उनको अन्त्यष्टिसमेत भइसमेको छ।
सोही हिमपहिरोमा ज्यान गुमाएका कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जाको शव भने बेलायत लगियो। उनको परिवार बेलायतमै रहेकाले शव पनि बेलायत नै लगिएको हो।
दुर्घटनास्थलबाट अझै एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोही गरी तीन जनाको शव फिर्ता ल्याउन बाँकी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। दुर्घटनामा ६ नेपालीसहित १० जनाको ज्यान गएको थियो।