एजेन्सी । क्रिस्टियानो रोनाल्डोले आफ्नी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजसँग पोर्चुगलमा विवाह गरेका छन्।
सन् २०१६ मा म्याड्रिडमा भेट भएपछि सम्बन्धमा रहेका रोनाल्डो र जर्जिनाले इन्स्टाग्राममा आफ्नो विवाहको पुष्टि गर्दै औँठी देखाएको तस्बिर सार्वजनिक गरेका छन्।
४१ वर्षीय रोनाल्डोले आफ्नो क्लब अल नासरले २०२६-२७ को साउदी प्रो लिग अभियान सुरु गर्नुभन्दा ४ दिनअघि विवाह गरेका हुन्।
उनीहरूको विवाह पोर्चुगलको राजधानी लिस्बनबाट करिब २० माइल पश्चिममा रहेको समुद्री तटीय रिसोर्ट सहर कास्काइसमा भएको हो। विवाह समारोहमा उनीहरूका पाँचै जना सन्तान सहभागी थिए।
रोनाल्डोले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, युभेन्टस, अल नासर तथा पोर्चुगल राष्ट्रिय टोलीबाट खेल्दै आफ्नो करिअरमा १ हजार गोलको नजिक छन्।
हालै उनले आफ्नो छैटौँ विश्वकप खेलेका थिए। पुरुष विश्वकपको अन्तिम चरणमा सर्वाधिक सहभागिताको कीर्तिमानमा उनी अर्जेन्टिनाका लियोनेल मेस्सीसँग बराबरीमा छन्।