काठमाण्डौ । रसुवामा रहेको भोटेकोशीमा बुधवार आएको बाढीबाट प्रभावित ७०० भन्दा धेरै स्वदेशी तथा विदेशी नागरिकको सैनिक हेलिकप्टरमार्फत उद्धार भएको छ ।

 

रसुवाको टिमुरे, स्याफ्रुबेँसी र मैलुङ क्षेत्रबाट आज दिउँसोसम्म ४० विदेशीसहित ७०६ जनाको उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाले भारतका २९, जर्मनीका ४, चीनका ४, कोरियाका २ र ओमानका १ जना नागरिकको उद्धार गरेको छ ।

 

बाढी प्रभावित जिल्लामा ४ हजार ५०० भन्दा धेरै जनशक्ति परिचालित भएका छन् । ३ वटै सुरक्षा निकायका फौजले संयुक्तरूपमा घाइतेको खोज तथा उद्धार, आपत्कालीन उपचार तथा राहत सामग्री वितरण गरिरहेका छन् ।

 

यस्तै बाढीका कारण ज्यान गुमाएकामध्ये दिउँसो ३ बजेसम्म ५४७ जनाको शव फेला परेको छ । रसुवादेखि नवलपरासी पश्चिमसम्म नदीमा शवहरू फेला पर्ने क्रम जारी छ ।

 

प्रहरीका अनुसार अहिलेसम्म रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, गोरखामा ४४, चितवनमा २२१, तनहुँमा २९, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जनाको शव भेटिएको हो ।