बिर्तामोड । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएका झापा बिर्तामोडका राजेन आचार्यको परिवारले कुशको प्रतीकात्मक शव बनाएर अन्तिम संस्कार गरेको छ।

 

भदौ १० गते बिहान आएको बाढीपछि बिहान ८ः३२ बजेदेखि सम्पर्कविहीन बनेका बिर्तामोड ३, बिर्ताबजार रंगशाला टोलका ५२ वर्षीय ‘राजु’ भनिने राजेन आचार्यको सास वा लास केही पनि फेला नपरेपछि परिवारले आइतबार कुशको शव बनाएर अन्तिम संस्कार गरेको हो।

 

राजेनका माइला दाजु दीपक आचार्यका अनुसार लामो समयसम्म खोजी गर्दा पनि कुनै खबर नआएपछि धार्मिक परम्पराअनुसार कुशको प्रतीकात्मक शव बनाएर अन्तिम संस्कार गरिएको हो।

 

राजेन ७९ वर्षीय बाबु शान्तिराम आचार्य र ७५ वर्षीया आमा रोहिणीदेवी आचार्यका पाँच सन्तानमध्ये कान्छा छोरा हुन्। उनका दुई दाजु र दुई दिदी छन्।

 

राजेन तीन महिनाअघिदेखि स्याफ्रुवेँसीस्थित लाङटाङ हाइड्रोपावर २० मेगावाटको कार्यालयमा कर्मचारीका रूपमा कार्यरत थिए। सोही क्रममा भोटेकोशीमा आएको बाढीपछि उनी सम्पर्कविहीन भएका थिए।

 

परिवारले धार्मिक विधिअनुसार अन्तिम संस्कार गरे पनि राजेन जिउँदै फर्किएर आउने आशा भने अझै मरेको छैन। अन्तिम संस्कारपछि पनि परिवार उनको प्रतीक्षामा छ। ‘कतैबाट राजेन जिउँदै फर्किएर आउलान् कि’ भन्ने आशा बोकेर आचार्य परिवार अझै उनको बाटो कुरिरहेको छ।