विराटनगर। प्रहरीले झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट ब्राउनसुगर तथा प्रतिबन्धित औषधसहित ६ जनालाई पक्राउ गरेको छ।

 

प्रहरीका अनुसार विभिन्न स्थानमा गरिएको छुट्टाछुट्टै कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन्। झापामा इलाका प्रहरी कार्यालय कुमरखोद र प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको संयुक्त प्रहरी टोलीले शिवसताक्षी ६ का ५३ वर्षीय सञ्जय अग्रवाल र १८ वर्षीय अर्जुन मल्लिकलाई ७ ग्राम १४ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

 

त्यसैगरी, मोरङको अस्थायी प्रहरी चौकी कुसलबजारबाट खटिएको प्रहरी टोलीले कानेपोखरी ४ का ३७ वर्षीय सुन्दर धिमाललाई १ ग्राम ९७० मिलिग्राम तथा पथरीशनिश्चरे ८ का २९ वर्षीय अजय मगरलाई २७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

 

यस्तै, सुनसरीको प्रहरी चौकी प्रकाशपुरबाट खटिएको टोलीले बराहक्षेत्र ९ का २५ वर्षीय भजन देव रामलाई ५९० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ। उनको साथबाट ट्रमाडोल ५ ट्याब्लेट र स्पास्टिन ६ ट्याब्लेटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

 

यसैगरी, इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका धादिङको बेनीघाट १ का २८ वर्षीय राजकुमार थिङ तामाङलाई ३ ग्राम ३९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। प्रहरीले पक्राउ परेका ६ जनामाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ।