झापा । झापाको बाह्रदशी गाउँपालिकामा बसले ठक्कर दिँदा एकजना मोटरसाइकल चालकको ज्यान गएको छ भने अर्का युवा गम्भीर घाइते भएका छन्।
आज सोमबार बिहान १०ः४५ बजे भागडुब्बास्थित हिमाली राजमार्गमा भागडुब्बाबाट राजगढतर्फ जाँदै गरेको प्र. १–०१–००१ ख ३५२४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्र. १–०१–०१४ प ११९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
उक्त दुर्घटनामा मोटरसाइकल चालक बाह्रदशी गाउँपालिका ४ का १८ वर्षीय करण राजवंशी र मोटरसाइकलको पछाडि सवार सोही स्थानका १९ वर्षीय अजय राजवंशी गम्भीर घाइते भएका थिए।
दुर्घटनालगत्तै घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल ल्याइएको थियो। अस्पताल पुर्याउँदा मोटरसाइकल चालक करण राजवंशीलाई दिउँसो १२ः१० बजे चिकित्सकले मृत घोषणा गरेका थिए। घाइते अजय राजवंशीको अवस्था भने मध्यम रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटना गराउने बस र चालक बाह्रदशी १ सालघारी बस्ने ४१ वर्षीय धनबहादुर खड्कालाई गाडीसहित जिल्ला प्रहरी कार्यालय झापातर्फ पठाएको र मोटरसाइकल इलाका प्रहरी कार्यालय राजगढको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।