शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकाले गत महिना आएको विध्वंसकारी भोटेकोशी बाढी प्रभावितका लागि ३३ लाखभन्दा बढी रकम प्रधानमन्त्री दैविक प्रकोप उद्दार कोषमा जम्मा गरेको छ ।
अर्जुनधारा नगर प्रमुखको सचिवालयका अनुसार बाढीबाट प्रभावित, खोज, उद्दार, विपद् प्रतिकार्य, राहत र पुनर्निमाणमा सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकारको निर्णयबमोजिम नगरपालिकाका कर्मचारी तथा शिक्षकहरुबाट ३३ लाख ४१ हजार २६ रुपैयाँ कोषमा जम्मा गरिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ढुंगानाका अनुसार विभिन्न तहका कर्मचारीको २ दिनदेखि ७ दिनको तलबबाट कट्टा हुनेगरी ३१ लाख ९१ हजार २६ रुपैयाँ र नगरपालिकाको तर्फबाट १ लाख ५० हजार रुपैयाँ कोषमा जम्मा गरिएको हो ।