झापा । जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ति गाउँपालिका–४ का २६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ ।

 

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनीरूपमा जग्गाधनी बनेका छन् । समितिका अनुसार लालपुर्जा प्राप्त गर्ने यी परिवारहरू २०४७ सालदेखि सो क्षेत्रमा बसोबास गर्दै आएका थिए ।

 

लामो समयदेखि अव्यवस्थित रूपमा बसोबास गर्दै आएका उनीहरूले आफ्नो नाममा जग्गाको स्वामित्व प्राप्त गरेका हुन् । समितिले सार्वजनिक गरेको विवरणअनुसार केही जग्गा आवास प्रयोजनका लागि र केही जग्गा कृषि प्रयोजनका लागि छन् ।

 

आज वितरण गरिएको लालपुर्जाअन्तरगत कुल २ बिघा ६ कठ्ठा ८ धुर जमिन औपचारिकरूपमा बसोबासीहरूको नाममा कायम गरिएको छ। सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ ।

 

भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीनरूपमा समाधान गर्दै उनीहरूलाई कानुनीरूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारीरूपमा अघि बढाइएको हो ।

 

भूमि समस्या समाधान समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल र बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाइँले संयुक्तरूपमा लाम्भावितहरूलाई लालपुर्जा हस्तातरण गरेका हुन् ।

 

यसैगरी, बुद्धशान्तिका ३१ भूमिहीन दलित परिवार र १४८ भूमिहीन सुकुम्बासी परिवारको प्रमाणीकरणको काम अझै बाँकी रहेकोे प्रजिअ पोखरेलले जानकारी दिएका छन् ।