इलाम । इलाम सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मेची राजमार्गको राजदुवाली सडक खण्ड यही असोज १५ र १६ गते पूर्ण रूपमा बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय इलामले एक संशोधित जरुरी सूचना जारी गर्दै सडक मर्मत तथा निर्माण कार्यका लागि दुई दिन सवारी आवागमन पूर्ण रूपमा रोकिने जनाएको छ।
पहिरो नियन्त्रण, ढल इनार र कल्भर्ट निर्माण गर्दा हुनसक्ने दुर्घटना न्यूनीकरणका लागि यसअघि असोज ६ र ७ गते सडक बन्द गर्ने निर्णय भएको थियो। तर, जल तथा मौसम विज्ञान विभागले भारी वर्षाको पूर्वानुमान गरेपछि उक्त निर्माण कार्य केही समयका लागि स्थगित गरिएको थियो।
हाल मौसममा सुधार आएसँगै पानी निकाल्ने इनार निर्माण कार्य अघि बढाउन सडक डिभिजन कार्यालय इलामको अनुरोधमा असोज १५ र १६ गते सडक पूर्णरूपमा बन्द गर्ने तय गरिएको छ।
सडक बन्द रहेको समयमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ। जसअनुसार ठूला सार्वजनिक सवारी साधनहरूलाई मेची कोरिडोर र साना सवारी साधनहरूलाई सिमलगोलाइ तिल्केनी सडक प्रयोग गर्न गराउन सूचित गरिएको छ।