Spread the love

अर्जुनधारा, झापा । झापाको अर्जुनधारा नगरपालिकाले चालु आर्थिक वर्षमा गरेका र भएका कार्य योजनाबारे आप्mना वडामै गएर समिक्षा गरिरहेको छ ।

त्रैमासिक, चौमासिक वा अर्धवार्षिकरुपमा गरिँदै आएको कार्य योजनाबारे अर्जुनधारा नगरपालिकाले वडा कार्यालयमै गएर समिक्षा गर्न थालेको हो । नगरले ६ नम्बर वडाबाट सुरु गरेर ५, २, ३ र ७ नम्बरमा सम्पन्न गरिसकेको छ ।

बुधबार बिहान ३ नम्बर वडामा आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख हरिकुमार रानाले सूचनाको हक सबैमा भए पनि पहुँच सबैमा नहुन सक्छ भनेर वडामै पुगेर नगर र वडाको कार्य योजनाबारे जानकारी दिने उद्देश्यले समिक्षा आयोजना गरिएको बताए । नगर र वडामा भइरहेका योजना र हुन बाँकी योजनाका बारेमा स्थानीयलाई जानकारी दिँदा आउने प्रतिक्रियाले सुधार गर्न मद्दत मिल्ने उनको भनाइ थियो ।

‘मिडियाबाट गरिने सूचना एकोहोरो हुने भएकाले दोहोरो बनाउन वडामै अन्तरक्रिया गरिएको हो’, उनले स्पष्ट पार्दै भने, ‘हाम्रो उद्देश्य जनताको हितको सुरक्षा गर्न, उत्तरदायित्व बोधसँगै सचेत गराउन र सूचना प्रवाह गर्नु हो ।’

सामाजिक समस्या निराकरण गर्न, गराउनका लागि समिक्षा आयोजना गरिएको बताउँदै उनले नगरमा रहेका शिक्षा, महिला तथा बालबालिका, पशु, कृषि, स्वास्थ्यलगायत शाखाले के कस्तो काम गरिरहेको छ र गर्नेछ भन्नेबारे स्थानीयलाई जानकारी दिनु अर्को उद्देश्य रहेको बताए ।

‘सीमित स्रोत साधनबाट विकास होइन, चामत्कारिक विकास गर्नु नगरको अर्को योजना हो’, उनले महत्वकांक्षी योजना सुनाए । आउँदो आर्थिक वर्षदेखि पूर्वाधार विकासका योजनालाई कटौती गर्दै लैजाने पनि उनले सुनाए ।

कार्यक्रममा विभिन्न दलका प्रतिनिधि, संघसंस्था, सरोकारवाला संस्थाका प्रतिनिधिहरुले आप्mना वडा र नगरका बारेमा जिज्ञासा राखेका थिए । प्रतिक्रिया र सुझावसहित आएका जिज्ञासाको जवाफ सम्बन्धित शाखा र वडाध्यक्षहरुले दिएका थिए । नगरका कार्यक्रम तथा वरिष्ठ योजना अधिकृत हिमराज सेढाइको सहजीकरणमा भएको समिक्षा कार्यक्रम चैत १७ गते सम्पन्न हुनेछ ।