अर्जुनधारा, झापा । झापाको अर्जुनधारा नगरपालिकाको चौथो नगरसभा मंगलबारदेखि सुरु भएको छ ।
नगरपालिकाको सभाहलमा आयोजित नगरसभामा उपस्थित जनप्रतिनिधि, बोर्ड सदस्यलाई सम्बोधन गर्दै नगर सभाध्यक्ष तथा नगरप्रमुख हरिकुमार राना मगरले नगरसभा सुरु भएको घोषणा गरेका थिए ।

बुधबारसम्म चल्ने नगरसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सांसद बृख प्रधानले संघीय प्रणालीलाई स्थापित गराउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताए । स्थानीय आवश्यकता पूरा गर्दै सुशासनको प्रत्याभूति दिन नगर तत्पर हुन जरुरी रहेको बताएका उनले जनतालाई सेवा दिन विकास निर्माणको कामलाई पारदर्शी ढंगले अघि बढाउन आग्रह गरे ।
नगरलाई समृद्ध र विकसित बनाउन सबै कटिबद्ध भएर लाग्नुपर्ने बताउँदै उनले नयाँ परिवेश र नयाँ कानुनी व्यवस्थामा काम गर्न जटिल भए पनि व्यवधानलाई समाधान गरी स्थानीय सरकारले नागरिकलाई बढीभन्दा बढी सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।
नगर प्रमुख रानाको प्रवेशसँगै राष्ट्रिय गानबाट सुरु भएको नगरसभा बुधबार बिहान ९ बजेसम्मका लागि स्थगित भएको छ । नगरसभामा ११ वटै वडाका जनप्रतिनिधि, बोर्ड सदस्यलगायतको सहभागिता रहेको छ । नगरसभाले विभिन्न विषयमा छलफल गर्ने बताइएको छ । नगरसभाको उद्घाटन अवसरमा अन्तर्राष्ट्रिय पदकधारी खेलाडीलाई पुरस्कृत गरिएको थियो ।